फाइल तस्वीर
काठमाडौँ, बैशाख ३ गतेः एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण प्रभावित भएको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपाली समय अनुसार ११ः४५ बजेदेखि सुरुआत हुने भनिएको उक्त खेल वर्षाले प्रभावित बनेको हो ।


खेल सञ्चालनका लागि वर्षाले गर्दा टस समेत हुन सकेको छैन । प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजिमा छ । यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

आजको खेलमा हङकङलाई हराउन सके नेपाल एक खेल अगावै समूह ‘ए’बाट प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ । यता हङकङ भने दोस्रो जितको खोजीमा रहेको छ । यसअघि खेलेको दुई खेलमा हङकङले एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । 

हङकङले पहिलो खेलमा कतारलाई २६ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो ।