काठमाडौँ, २ वैशाख : बागमती प्रदेशका तीन मन्त्रीले मुलुकको हस्तकला क्षेत्रको प्रवद्र्धनमा आफूहरु लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्य, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल र उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँहरुले हस्तकला क्षेत्रको प्रवद्र्धनका लागि आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने कार्यलाई प्राथमिकतापूर्वक कार्यान्वयन गर्दै लैजाने बताउनुभएको हो । तीनैजना मन्त्रीले प्रदेशभित्रका मन्त्रालय र कार्यालयमा नेपाली हस्तकलाको प्रयोग बढाउने, हस्तकला ग्राम स्थापना र सञ्चालन विधेयक संसद्बाट पारित गरी कार्यान्वयन गराउने, आगामी आवमा हस्तकला क्षेत्रलाई प्राथमिकता राखेर बजेट विनियोजन गर्ने, हस्तकला नीति स्वीकृत गरी कार्यान्वयन गर्ने, वनजन्य उद्योगमा आधारित हस्तकला वस्तुका लागि आवश्यक कच्चापदार्थ उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको महासङ्घका महानिर्देशक उत्तमप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला क्षेत्रको दिगो विकास र प्रवद्र्धनका लागि बागमती प्रदेशसभामा दफावार छलफलको प्रक्रियामा रहेको हस्तकला ग्राम स्थापना तथा सञ्चालन अध्यादेश चाँडो पारित गर्न आग्रह गर्नुभएको थियो ।

यस्तै, महासङ्घले प्रदेशस्तरीय हस्तकला नीतिको स्वीकृत, सार्क हस्तकला विकास केन्द्र सञ्चालन, हस्तकला व्यापार तथा हस्तकला प्रतियोगिता सञ्चालन, हस्तकला विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारलाई आग्रह गरेको छ ।

महासङ्घका संस्थापक अध्यक्ष सागरशमशेर राणाले हस्तकलाको अथाह सम्भावना भएको बागमती क्षेत्रमा हस्तकलाको विकासका लागि प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।