फाइल तस्वीर: मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव
धनुषा — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबीचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौँद्वारा नयाँ वर्षको अवसरमा आज जनकपुरधाममा आयोजित ‘द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सव’को उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
मुख्यमन्त्री यादवले नेपाल–भारतबीचको सम्बन्ध हिमालभन्दा पनि उचो र समुद्रभन्दा पनि गहिरो रहेको बताउनुभयो । नेपाल–भारतबीचको सम्बन्ध दुई देशको सरकारभन्दा पनि जनता–जनताबीच रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री यादवले भन्नुभयो, “यो कुराको पुष्टि रामलालाको प्राणप्रतिष्ठाको बेला दुवै देशमा देखिएको हर्षोत्सवले गरिसकेको छ ।”
सीमा क्षेत्रमा सुरक्षा र राजस्वको क्षेत्रमा हुनसक्ने समस्या समाधानका लागि दुवै देशका सरकारले छलफल गरी दुवै देशलाई हित हुनेगरि कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा मुख्यमन्त्री यादवले जोड दिनुभयो ।
भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीना र भारतीय राजदूतावास काठमाडौँका प्रथम सचिव गीताञ्जलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साहसहितका वक्ताले सांस्कृतिक कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा संस्कृति एवं अर्थविद् डा हरिवंश झाले माता जानकी लीला प्रसङ्गबारे चर्चा गर्नुभएको थियो । महोत्सवमा दुई देशका नारीहरूको साझा पहिरन ‘साडी’को प्रदर्शनीका साथै विभिन्न किल्लाहरूको फोटो प्रदर्शनी गरिएको थियो ।
महोत्सवअन्तर्गत आज साँझ सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरिने छ । कार्यक्रममा मधेस प्रदेशसभाका सदस्यलगायत विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो ।