फाइल तस्वीर
काठमाडौँ — ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा जितको खोजिमा मैदानमा उत्रिएको नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ । ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाउँदै कतारलाई २११ रनको लक्ष्य दिएको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले बिस्फोटक ब्याटिङ गर्दै ६४ रन जोडे । जम्मा २१ बल खेलेका उनले ७ छक्का र ३ चौकाको मद्दतमा ६४ रन बनाउन सफल हुँदा आसिफ शेखले ५२, कुशल मल्लले ३५, रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन जोडेका थिए । ओपनर कुशल भुर्तेल ११ बल खेल्दै दुई चौकाको सहयोगमा १२ रन बनाएर आउट भएका थिए ।

आज नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अभिनाश बोहोरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल मल्ल छन् ।