एमाले पर्वत जिल्ला कमिटीका नवनिर्वाचित अध्यक्षसहितका पदाधिकारीहरु ।
पर्वत — नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पर्वत जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज शनिबार सम्पन्न जिल्लाको १० औं अधिवेशनले गोविन्द पहाडीलाई पार्टी जिल्ला कमिटीको अध्यक्षमा निर्वाचित गरेको हो ।

नवनिर्वाचित अध्यक्ष पहाडीले दुई सय २८ मत ल्याएर आफ्ना प्रतिस्पर्धी पद्मपाणी शर्मालाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । अध्यक्षमा पराजित शर्माले एक सय २७ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी जिल्ला कटिमीको उपाध्यक्षमा विमल लामिछाने निर्वाचित हुनुभएको छ । लामिछानेले दुईसय १७ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका प्रतिद्वन्द्वी मिनप्रसाद श्रेष्ठले एक सय ४८ मत पाउनुभएको थियो ।

यसैगरी अधिवेशनले सुवासचन्द्र पौडेल सचिवमा निर्वाचित गरेको छ भने खुला उपसचिवमा चण्डीप्रसाद भुर्तेल र महिलातर्फ विन्दु अधिकारी निर्वाचित हुनुभएको छ ।

विजयी भएका अध्यक्षसहितका पदाधिकारी मन्त्री पदम गिरी समूहका हुन् भने पराजित भएकाहरू पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समूहका हुन् । पछिल्लो समय एमालेमा प्रदेश र जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि दुई गुटबीच चुनावी प्रतिस्पर्धा हुने गरेको छ । एमालेमा गुटबन्दी मौलाउँदै गएको प्रदेश र जिल्ला अधिवेशनबाट प्रष्ट देखिएको छ ।