फाइल तस्वीर
काठमाडौँ — आज नयाँ साल २०८१ को पहिलो दिन, देशभरको मौसममा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले आज बिहान तीन प्रदेश कोशी, बागमती र मधेसलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेश लगायत देशका पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । भोलि आइतबार कोशी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।