फाइल तस्वीर
काठमाडौँ — जारी एसीसी प्रिमियर कप २०२४ मा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै सुखद् नतिजा निकाल्न सफल भएको हो ।

मलेसियाले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेट गुमाउँदै आफ्नो लक्ष्य पूरा गर्न सफल भयो । नेपालको जितमा गुलशन झाले सात बलमा एक चौका र दुई छक्कासहित १९ तथा सन्दीप जोरा १२ रनमा नट आउट रहे भने कप्तान रोहित पौडेल २४ बलमा एक छक्कासहित २८ रनमा क्याच आउट हुन पुगेका थिए ।

यसैगरी नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले सात दशमलव पाँच ओभरमा ४९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाउँदा भुर्तेल २४ बलमा तीन चौकासहित २४ रनमा स्पिनर पवनदीप सिंहको बलमा एलबीडब्लू आउट भएका थिए ।

आसिफ शेख ३५ बलमा चार चौकासहित ३२ र कुशल मल्ल सात रनमा आउट हुँदा दीपेन्द्र ११ बलमा दुई चौका र एक छक्कासहित २० रनमा नट आउट हुन पुगे ।

यता विपक्षी टोली मलेसियाका विरनदीप सिंहले चार ओभरमा ३५ रन खर्चेर तीन विकेट लिए । पवनदीपसिंह र मोहम्मद वाकिफले एक÷एक विकेट लिए । त्यसअघि अल अमरेत क्रिकेट मैदान एक मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा तीन विकेट गुमाउँदै एकसय ४३ रन बनाएको थियो । कप्तान विरनदीप सिंह ५५ बलमा तीन चौका र चार छक्कासहित सर्वाधिक ६८ रनको सुस्त इनिङ खेलेका थिए ।

ओपनर विरनदीप सिंह र मोहम्मद आमिरले पाँच दशमलव एक ओभरमा ३५ रनको साझेदारी गरेका थिए । आमि १६ रनमा दीपेन्द्रको बलमा कट एण्ड बोल्ड आउट भएका थिए ।

त्यसपछि शर्विम मुनिआन्डी र विरनदीप सिंहले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । शर्विन अभिनाश बोहराको योर्करमा बोल्ड भए । उनले ३३ बलमा तीन चौका र दुई छक्कासहित ४१ रन बनाएका थिए ।

नेपालका दीपेन्द्रले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिंदा अभिनाश बोहराले चार ओभरमा २८ रन खर्चेर उक विकेट लिएका थिए । आज समूह बीतर्फ ओमानले बहराइनलाई तीन रनले हराएको थियो । युएईले कुवेतलाई सात विकेटले हराएको थियो । नेपालले भोलि शनिबार कतारसँग खेल्नेछ । दश टोली सम्मिलित यस प्रतियोगिताको विजेताले आगामी एसिया कपको यात्रा तय गर्नेछ । आजको जित सँगै नेपालले एसिया कपको यात्राका लागि ढोका खुला गरेको छ ।