डोल्पा — जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागी हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको हो ।

बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका बालबालिका अपराह्न गम्भीर घाइते भएका हुन् । उनीहरूलाई उद्धार गरेर साँझमा जिल्ला अस्पताल पुर्याइएको थियो । हरसम्भव प्रयास गर्दा पनि घाइतेलाई बचाउन नसकिएको डा अखण्ड उपाध्यायले बताउनुभयो ।

त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौँ लैजान हेलिकप्टरको व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताउनुभयो । गत मङ्गलबार डोल्पाको ठुलीभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चारजना नेपाली सेनाका जवानमध्ये तीनजनाको मृत्यु भएको थियो ।