प्रतिकात्मक तस्वीर
महेन्द्रनगर — गए राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ । बेतालघाट पुलिस थानाका सब–ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन् ।

मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको साविक भेरी अञ्चल बबइका भएको बेतालघाट पुलिस थानाले जनाएको छ । घटनास्थल वरपर नेपालीहरु सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे । उनीहरु गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दागर्दै सवारी सडकदेखि तल झरेको अन्सारीले बताउनुभयो ।

“काम गर्ने ठाउँ नजिकै दुर्घटना हुँदा सात नेपालीसहित स्थानीय चालकले ज्यान गुमाए,” उहाँले भन्नुभयो, “उनीहरुको शव नैनीताल सरकारी अस्पतालमा राखिएको छ ।” दुर्घटनामा परी धीरज चौधरीको श्रीमती शान्ति चौधरी र जनक चौधरी घाइते भएको उहाँले जानकारी दिनुभयो ।

गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनाको उद्धारमा राति प्रहरीलगायत ’स्टेट डिजास्टर रेस्पोन्स टिम’समेत खटिएको सब–इन्सपेक्टर अन्सारीले बताउनुभयो ।