सल्लेरी — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा अपाङ्ता रोकथाम तथा पुनःस्थापना शिविर सम्पन्न भएको छ । कोशी प्रदेश सरकार, खुम्बु पासाङल्हामु गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा चैत १७ गतेबाट सुरु भएको नौ दिने शिविर आइतबार सकिएको हो ।

राष्ट्रिय अपाङगता महासङ्घको प्राविधिक सहयोगमा खुम्बु पासाङल्हामु गाउँपालिका–१ बाट सुरु गरिएको शिविर वडा नं ४ मा पुगेर समापन गरिएको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले जानकारी दिनुभयो । 

उहाँका अनुसार सबै वडामा भएको घुम्ती शिविरबाट एक सय १३ जनाले स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र प्राप्ति तथा आवश्यकता पहिचान सेवा लिएका छन् । जसमध्ये पूर्ण अपाङ्गता (क वर्ग), अति अशक्त अपाङ्गता (ख वर्ग), मध्यम अपाङ्गता (ग वर्ग) र सामान्य अपाङ्गता (घ वर्ग) गरी ९८ जनाले परिचयपत्र प्राप्त तथा नवीकरण गरेको गाउँपालिकाले जनाएको छ ।