वालिङ — नेपाल कम्युनिस्ट पार्टी एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित हुनुभएको छ । उहाँ यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष हुनुहुन्थ्यो ।

उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन हुनुभएको नवौँ अधिवेशन निर्वाचन कमिटीका संयोजक टङ्कप्रसाद न्यौपानेले जानकारी दिनुुभयो । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज शपथ खुवाइने छ । 

नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गरेको हो । एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् । नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका संयोजक न्यौपानेले बताउनुभयो ।