काठमाडौँ — काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै छ । परम्परागत रुपमा मनाइने यस पर्व हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । प्राचीन कालमा टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको र विभिन्न उपायले त्यसलाई संहार गरिएको जनविश्वास अनुरुप घोडेजात्रा मनाइंदै आएको छ ।


काठमाडौं उपत्यकामा यो वर्ष विशेष गरी मनाउने प्रचलन छ । काठमाडौँको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा रहिआएको छ । यिनै लुकुवा महादेवलाई पिशाच चतुर्दशीका दिन रछानबाट झिकी नुहाइदिएर सफासुग्घर तुल्याई मद्यमांस आदि तामसी भोग चढाइन्छ । भोगमा छ्यापी, लसुन जस्ता तामसी भोजनको प्राचुर्य हुन्छ । घोडेजात्रापछि लसुन छिपिएको हुन्छ, खानलायक हुँदैन भन्ने किंवदन्ती पनि आजसम्म त्यत्तिकै चरितार्थ रहेको पाइन्छ ।

घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको विश्वासमा टुँडिखेलमा घोडा दौडाउने गरिन्छ । नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्दैछ । घोडेजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।