लुम्बिनी — लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री महरालाई शपथ गराउनुभएको हो ।

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका महरा प्रदेश सरकारको पाँचाँै मुख्यमन्त्रीमा हुनुभएको छ । विसं २०३७ सालदेखि २०३९ सम्म प्रावि शिक्षक उहाँ विसं २०३५ र २०३६ सालको विद्यार्थी आन्दोलनमा सङ्लग्न भई राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँले विसं २०४४ देखि २०५० सालसम्म मावि शिक्षकका रुपमा पनि काम गर्नुभयो ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि आज शपथग्रहण गर्नुभएका महरा विसं २०७९ मङ्सिरमा सम्पन्न संसदीय निर्वाचनमा रोल्पा क्षेत्र नं १ (१) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित हुनुभएको हो । लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पाको साविक गजुल गाविस वडा नं २, हाल सुनिलस्मृति–गाउँपालिका–५ गजुल काट्नेमा बुवा खलबहादुर महरा र आमा रमिता महराको कोखबाट विसं २०२० कात्तिक १ गते जन्मनुभएका महराले स्थानीय श्री जनज्योति मावि गजुलबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो ।

यस्तै उहाँले महेन्द्र बहुमुखी क्याम्पस दाङबाट प्रमाणपत्र तह तथा राजनीतिशात्र र अर्थशास्त्रमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ । नवनियुक्त मुख्यमन्त्री महराका श्रीमती तपी महरा र चार छोरा हुनुहुन्छ ।

विसं २०४२ मा विद्यार्थी सङ्गठनको दाङको सचिव हुँदै विसं २०५१ मा नेकपा (माओवादी)को रोल्पा जिल्ला सचिवका रुपमा पार्टीको जिम्मेवारी पाउनुभएको थियो । यसपछि पनि पार्टीको विभिन्न जिल्लामा नेतृत्वमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएका महरा विसं २०६४ मा नेकपा (माओवादी) को तर्फबाट संविधानसभा सदस्य हुनुभएको थियो ।

विसं २०६२ देखि २०६५ र २०७२ देखि २०७८ सम्म दुई पटक पार्टी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ को प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा काम गर्नुभएका महरा विसं २०७४ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा रहेरसमेत काम गर्नुभएको थियो ।

नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य रहनुभएका महरा गतवर्ष एमाले संसदीय दलका नेता लीला गिरी नेतृत्वको प्रदेश सरकारमा लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीको जिम्मेवारीमा रहनुभएको थियो ।

यसअघि मुख्यमन्त्री पदबाट डिल्लीबहादुर चौधरीले चैत २२ गते प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेपछि नेकपा (एमाले)सहित पाँच दल र एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४८ जनाको समर्थनमा महराले यही चैत २३ गते प्रदेश प्रमुख समक्ष सरकार गठनको दाबी प्रस्तुत गर्नुभएको थियो ।

यस्तै, मुख्यमन्त्री महराले आजै सानो मन्त्रिमण्डल पनि गठन गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार एमालेका नेता चेतनारायण आचार्य र माओवादी केन्द्रका दीपेन्द्रबहादुर पुन र जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई बिना विभागीय मन्त्रीमा नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुलाई सोही समारोहमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १७२ बमोजिम पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ ।