फाइल तस्वीर

सिमकोट — कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तर्जुमासम्बन्धी जिल्लास्तरीय परामर्श गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समितिमा आयोजना गरिएको परामर्श गोष्ठीमा सहभागी अधिकांश वक्ताले प्रदेशको विकासका लागि भौतिक पूर्वाधार विकासमा राज्यले विशेष जोड दिनुपर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने जिल्ला भएकाले हुम्ला जिल्लामा पर्यटन पूर्वाधार निर्माण पञ्चवर्षीय योजनाको पहिलो प्राथमिकता हुनुपर्नेमा अधिकांश सहभागीहरुको जोड थियो । लिमी–लाप्चाबाट प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवरको जान सकिने भएकाले सदरमुकामदेखि लिमीसम्मको सडक स्तरोन्नतिको अविलम्ब प्रयास थालिनुपर्नेमा पनि वक्ताहरूले जोड दिनुभएको थियो ।

पाँच वर्षभित्र कर्णाली करिडोरबाट हुम्लाका स्थानीय तह जोडिनुपर्ने भन्दै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले हुम्ला कर्णालीका साथै ह्याप्कालगायत नदीमा विद्युत् उत्पादनको सम्भाव्यता अध्ययन हुनुपर्ने, सिमकोटसहित उच्च क्षेत्रमा पाइने जडीबुटी र फलफूल अध्ययन– अनुसन्धान केन्द्र स्थापना योजनामा समेटिनु्पर्ने बताउनुभयो ।

हुम्लामा उत्पादित चिनो, सिमी र महमा हुने मिठास र स्वादिलोपना देशका अन्य जिल्लामा नपाइने भएकाले बजारीकरणका लागि जोड दिनुपर्ने सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताउनुभयो ।

जिल्लाको उत्तरी नाम्खा, सिमकोट खार्पुनाथ गाउँपालिकाका क्षेत्रमा ढुङ्गा धेरै हुने हुँदा यहाँ सिमेन्ट कारखानाका लागि पञ्चवर्षीय योजना समेट्न उहाँले आग्रह गर्नुभयो ।

हुम्लाका चाङ्ला भञ्ज्याङ, रलिङ गुम्बा, पञ्चमुखी हिमाल क्षेत्र, खार्पुनाथ, रामपाल माडु, शिवमन्दिर, कालाशिल्ता, रानीशैन, लिमीलगायत क्षेत्रलाई समेटेर विशेष पर्यटन क्षेत्र घोषणा गर्नुपर्ने सुझाव पनि दिइएको थियो । गोष्ठीका सहभागीले नेपाल–चीन व्यापारलाई व्यवस्थित गर्न हिल्सा नाकामा ‘क्वारेन्टीन चेकपोष्ट’ तथा यारीमा सुक्खा बन्दरगाह स्थापनाका साथै स्थानीय भेडाको ऊनबाट बन्ने बक्खुलगायत उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि विशेष कार्यक्रम लागू गर्नुपर्ने माग गरेका थिए । रासस