दमौली — तनहुँको आँबुखैरेनी गाउँपालिकाले धानबालीमा लाग्ने रोगको प्रकोप नियन्त्रणलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा गाउँपालिकाका सबै वडामा गरी चार सय रोपनी क्षेत्रफलको धानखेतीमा लागेको रोगको प्रकोप नियन्त्रण गरेको हो ।
कृषिबाली संरक्षण कार्यक्रमअन्तर्गत धानबालीमा लाग्ने रोग नियन्त्रणलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धानबालीमा विभिन्न रोगको प्रकोप आउँछ, फड्के किराको प्रकोप, गवारोको प्रकोप, पतेरोको प्रकोपलगायतका समस्या आउँछन्, त्यस्तो प्रकोप नियन्त्रणका लागि पालिकाले योजना बनाएर काम गरिरहेको छ ।”
गाउँपालिकाका छ वडामा चार सय रोपनी क्षेत्रफलमा त्यस्ता रोगको प्रकोप नियन्त्रण गरिएको केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि बाली संरक्षण कार्यक्रमअन्तर्गत नै ४० रोपनी क्षेत्रफलमा गरिएको तरकारी बालीको रोग नियन्त्रण गरिएको छ ।
उहाँले भन्नुभयो, “यो कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्राविधिक सहयोग, विषादी र स्प्रे पम्प, व्यक्तिगत सुरक्षा सामग्री निःशुल्क प्रदान गरेको छ ।” आगामी दिनमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि पनि गाउँपालिकाले कार्ययोजना बनाएको छ ।
उहाँले भन्नुभयो, “कृषकले खेती गरेको बालीमा बाँदर, बँदेल, मृगलगायतले क्षति पु¥याउँदा कृषकलाई नोक्सानी भइरहेको छ । यसका लागि के गर्न सकिन्छ त्यसतर्फ अगाडि बढेका छौँ ।” केसीले सुन्तला र तरकारीखेती गर्ने कृषकको माग तथा आवश्यकताअनुसार असिना छेक्ने जालीको व्यवस्था गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुन्तला र तरकारी बढी उत्पादन हुने क्षेत्रका कृषकलाई असिनाबाट बाली बचाउन जाली निःशुल्क वितरण गर्छौं, त्यसका लागि कृषकबाट आवेदन माग गरिनेछ ।”
यसैगरी कृषि शाखाले कृषकलाई मकैको बीउसमेत वितरण गरेको छ । गत आर्थिक वर्षमा परेको लामो खडेरीका कारण कृषकबाट मकैको बीउ संरक्षण हुन नसकेकाले शाखाले यस वर्ष कृषक समूहलाई भूगोलअनुसारको उन्नत जातको मकैको बीउ सहयोग गरेको केसीले जानकारी दिनुभयो । गाउँपालिकाले निःशुल्करुपमा मकैको बीउ उपलब्ध गराएपछि कृषक खुसी भएका छन् ।