तुलसीपुर — लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिने घोषणा गर्नुभएको छ । आज प्रदेशसभामा सम्बोधन गर्दै चौधरीले राजीनामा दिने घोषणा गर्नुभएको हो ।

उहाँले प्रदेशसभालाई सम्बोधन गर्नुहुँदै प्रशासनलाई चुस्त, दुरुस्त बनाउन नसकेको बताउनुभएको छ । “हामीले प्रशासनलाई चुस्त, दुरुस्त राख्न सकेनौँ”, उहाँले भन्नुभयो “सत्ताको चाकडी गर्ने प्रवृत्तिले प्रशासन अघि बढ्न सक्दैन ।” कर्मचारी प्रशासनकै कारण विकासे बजेट खर्च न्यून हुने गरेको उहाँको भनाइ छ । साथै उहाँले सत्ता भनेको अस्थायी हुने भन्दै सङ्घीयता जोगाउनका लागि सबै एकमतका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

केन्द्रको सत्ता समीकरण फेरिएसँगै लुम्बिनीमा पनि सत्ता समीकरण फेरिएको छ । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्ष दल सहमत भएका छन् । एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्कबहादुर बस्नेतले पाँच बुँदे सहमति गर्दै महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन् । 

८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद चाहिन्छ । लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (सभामुख बाहेक), जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एक जना र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपाका संसदीय दलका नेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका  भगवती अधिकारी र स्वतन्त्र सांसद बस्नेतले हस्ताक्षर गरी पाँच बुँदे समझदारीसमेत बनेको हो ।