काठमाडौँ — एमएमएस फ्रेन्डसिप कप अन्तर्गतको लिगको आज भएको चौथो खेलमा नेपालले गुजरातसामू एक सय ८२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८१ बनायो ।

नेपालका सुरुआत उत्कृष्ट रह्यो । दुवै ओनपरले पहिलो विकेटका लागि एक सय २५ रनको साझेदारी गरे । सुरुआत राम्रो भए पनि नेपाली ब्याटरले फिनिसिङ गर्नबाट भने चुके । पहिलो विकेटका रुपमा नेपालले कुशल भुर्तेललाई गुमायो । उनले दुई छक्का र नौ चौकाको सहयोगमा ६७ रन बनाए । अर्का ओपनर मोहम्मद आशिफ शेखले ८५ रनको योगदान दिए । उनले ५१ बल खेल्ने क्रममा पाँच छक्का र १० चौका प्रहार गरे ।

तर अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् । कप्तान रोहित पौडेलले तीन रन बनाए भने सन्दीप जोराले दुई मात्रै बनाए । कुशल मल्लले एक, गुलशन झाले चार रन बनाए । अनिल शाह शून्यमा आउट भए भने विवेक यादव सात रन र प्रतीस जिसी चार रनमा अविजित रहे ।

गुजरातका लागि जयमित पटेलले तीन विकेट लिए भने आर्या देसाइ र ध्रुशान्त सोनीले दुई÷दुई विकेट लिए । गुजरात अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।