काठमाडौँ — नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विगत दुई सातादेखि लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो मङ्गलबार प्रतितोला एक लाख ३१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सय रुपैयाँले बढेर एक लाख ३३ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै, तेजावी सुन हिजो मङ्गलबार प्रतितोला एक लाख ३० हजार पाँच सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३२ हजार तीन सय ५० निर्धारण भएको छ । 

त्यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ । मङ्गलबार प्रतितोला एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने ६५ रुपैयाँले बढेर तोलामा एक हजार छ सय १० रुपैयाँ बराबरको मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ ।