एजेन्सी — ताइवानको पूर्वी तटमा बुधबार ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ । यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको छ । भूकम्प मापन अधिकारीहरूका अनुसार यो ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प हो ।


भूकम्पपछि ताइपेका कतिपय स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ । भूकम्पले पु¥याएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ । यद्यपि, थुप्रै घरमा क्षति भएको जानकारी ताइवानको रक्षा मन्त्रालयले दिएको छ । सरकारले राहत र क्षति न्यूनीकरण गर्न सैन्य फौज पठाइएको मन्त्रालयले जनाएको छ ।

ताइवानको सेन्ट्रल वेदर एडमिनिस्ट्रेसनका प्रवक्ताका अनुसार यो २५ वर्षयताकै ताइवानमा आएको सबैभन्दा ठुलो भूकम्प हो । चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि भूकम्पको धक्का महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
बीबीसीका अनुसार ताइवानमा शक्तिशाली भूकम्पपछि छिमेकी देश जापानमा मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको छ ।
त्यस्तै ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ । फिलिपिन्सको भूकम्प मापन निकायले सुनामीको चेतावनी पनि जारी गरेको छ ।

चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा भूकम्पको धक्का महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका फुटेजमा भत्किएका आवासीय भवनहरू र मानिसहरूलाई उनीहरूको घर र विद्यालयबाट बाहिर निकालिएको देखाइएको छ ।