म्याग्दी — म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लागत घटाउन कृषि औजार वितरण गर्न थालेको छ । परम्परागत खेती प्रणालीमा लागत बढी लाग्ने र किसानलाई लाभ नहुने भएपछि गाउँपालिकाले किसानलाई मागमा आधारित कृषि औजार तथा उपकरण वितरण गर्न थालेको हो ।

गाउँपालिकाले आठ किसानलाई मिनिटेलर हलो, एक जनालाई कोदो चुट्ने मिल, चार जनालाई पिस्ने मिल गरी १३ जनालाई कृषि उपकरण वितरण गरिएको कृषि शाखाका प्राविधिक सहायक हेमन्तबहादुर शाहीले जानकारी दिनुभयो । कृषि पेसालाई आधुनिकीरण गरी उत्पादन बढाउन रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत उपकरण सहयोग गरिएको उहाँले बताउनुभयो । 

गाउँपालिकाको केन्द्र पोखरेबगरमा एक कार्यक्रमबीच गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी लगायतले किसानलाई औजार र उपकरण वितरण गर्नुभएको हो । कृषिलाई आधुनिकीकरण गर्दै किसानको लागत घटाउन कृृषि उपकरण वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पुनले बताउनुभयो । 

गाउँपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानसँगको लागत सझेदारीमा रु छ लाख ३५ हजार बराबरका उपकरण हस्तान्तरण गरेको जनाएको छ । गाउँपालिकाले यसअघि ७५ प्रतिशत लागत साझेदारीमा गाउँपालिकाको चार लाख ५० हजार र साझेदारीमा किसानबाट एक लाख गरी कूल पाँच लाख ५० हजारको बजेटबाट मागअनुरुप कृषि यान्त्रीकरण सामग्री वितरण गरेको थियो । 

उक्त कार्यक्रममा पाँच मिनिटेलर, पाँच फलफूलको हाँगा काँटछाँट गर्ने सिकेचर, पाँच आरी, नौ भ¥याङ र दुई तौल मेसिन वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । कृषि उपकरणले उत्पादन लागत घटेर उत्पादकत्व बढ्ने तथा स्थानीय रैथाने बाली उत्पादन र संरक्षण गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन योगदान पुग्ने उहाँले बताउनुभयो ।

चालू आर्थिक वर्षमा पालिकाले किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालनका लागि करिब रु डेढ करोड बराबरको बजेट विनियोजन गरेको जनाएको छ । परम्परागत रुपमा गोरुले खेतबारी जोत्नुपर्दा झन्झट हुने र लागत बढी लाग्ने गरेको सन्दर्भमा कृषि औजार उपकरणले राहत मिलेको अन्नपूर्ण–८ काफलडाँडाका सुकबहादुर चोचाङ्गीले बताउनभयो ।