मकवानपुर — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्दै एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ । सोमबार साँझ मन्त्रीमा नियुक्त हुनुभएकी नवनियुक्त मन्त्री आलेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम आज मङ्गलबार बिहान पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

एकीकृत समाजवादीबाट बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद आले हिजो सोमबार मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने बेला प्रदेशसभा बैठकमा ढिलोसम्म उपस्थित नहुँदा मन्त्रीमा बार्गेनिङ गरेर अलमल गरेको चर्चा थियो।
उहाँ अनुपस्थित हुँदा मुख्यमन्त्रीलाई विश्वासको मत नपुग्ने भएपछि सोमबार नै मन्त्री नियुक्त गर्ने समझदारीपछि मात्रै सांसद रमा आले मगरलाई प्रदेशसभा बैठकमा उपस्थित हुनुभएको थियो ।

गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर १० को प्रदेश सभा निर्वाचन क्षेत्र ‘२’ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । विनाविभागीय मन्त्रीमा शपथ लिनुभएकी मन्त्री आलेले केही दिनभित्रै मन्त्रालयको टुङ्गो लगाउने बताइएको छ ।

नवनियुक्त मन्त्री आलेले मन्त्री पदमा शपथ लिनुभएसँगै प्रदेशमा मन्त्रीको सङ्ख्या ८ पुगेको छ । प्रदेशको १२ मन्त्रालय मध्ये मुख्यमन्त्री सहित माओवादी केन्द्रका ४, एमालेका १, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् भने अन्य ४ मन्त्रालय मन्त्री विहीन रहेका छन् ।