काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गर्नुभएको छ । गत २३ फागुनमा प्रदेश सरकारमा रहेका नेपाली काङ्ग्रेसका ६ मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादी नेतृत्वको सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री जम्कट्टेलले आज सदनबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

आज दिउँसो १ बजे प्रदेशसभा भवन हेटौँडामा बस्ने बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । प्रदेशसभाका सचिवालायका अनुसार आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलले सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको छ ।

बाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली काङ्ग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिन लाग्नुभएको हो । ११० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेललाई बहुमत जोगाइराख्न ५६ सांसदको आवश्यकता पर्दछ ।

बागमती प्रदेशमा सत्तापक्षमा रहेका नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य रहेका छन् । यस्तै, प्रतिपक्षमा रहेका नेपाली काङ्ग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सदस्य रहेका छन् ।