हेटौंडा — नेपाली काङ्ग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलका विपक्षमा मतदान गर्न नेपाली काङ्ग्रेसको संसदीय दललाई निर्देशन दिएको छ । नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न पत्रसहित निर्देशन दिएको हो ।

बैठकले मुख्यमन्त्री जमकट्टेललाई २०७९ माघ ३ गते विश्वासको मत दिएकोमा २०८० फागुन २३ मा बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको र प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकाले विश्वासको मतको विपक्षमा मतदान गर्न काङ्ग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई निर्देशन दिएको हो ।

बागमती प्रदेशसभामा मुख्यमन्त्री जमकट्टेलले भोली चैत १९ गते विश्वासको मत लिने कार्यक्रम छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

बागमतीको एक सय १० सदस्यीय प्रदेशसभामा बहुमत कायम रहन जमकट्टेलले ५६ मत प्राप्त गर्नुपर्दछ । यस प्रदेशको प्रदेशसभामा काङ्ग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपा १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् ।