प्रतिकात्मक तस्वीर
गोरखा — सहिद लखन गाउँपालिका–३ घोर्लेस्वाँरामा आज दिउँसो स्कारपियो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका शोभाखर गैरेको तनहुँको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी स्कारपियोमा सवार नवलपरासीपूर्व विनय त्रिवेणी गाउँपालिका–४ का ४५ वर्षीय शोभाखर गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठका अनुसार नवलपरासीपूर्वबाट मझुवादेउराली हुँदै मनकामनातर्फ जाँदै गरेको ग१च ७६१९ नम्बरको स्कारपियो जिप दुर्घटनामा परेको हो ।

उकालो बाटोमा गाडी चढ्न नसकेपछि अनियन्त्रित भई जिप सडकको नालीमा पल्टिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । स्कारपियो चालक नवलपरासीपूर्व विनयत्रिवेणी गाउँपालिका–४ घर भएका ४७ वर्षीय बेगबहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।