काठमाडौँ — विगतका दुई आवधिक निर्वाचन र उपनिर्वाचनहरूमा तालमेल गर्दै चुनावी प्रतिस्पर्धा गर्दै आएका प्रमुख राजनीतिक दल आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा भने आ–आफ्नै शक्ति परीक्षणमा लाग्ने भएका छन् । त्यस प्रतिस्पर्धामा संसदीय अभ्यासमा पछिल्लो निर्वाचनबाट उदाएका नयाँ दल पनि सहभागी हुँदै छन् ।
हालसम्मको राजनीतिक परिदृश्य अनुसार एक महिनापछि इलाम क्षेत्र नं. २ र बझाङ क्षेत्र नं. १ (क) मा हुने उपनिर्वाचनमा दलहरूबिच एकल रूपमा प्रतिस्पर्धा हुने भएको छ तर चुनाव हुने दिनसम्ममा पनि कुनै दलले अर्को दललाई समर्थन गर्ने सम्भावना पनि छ ।
बुधबार साँझसम्म प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस, सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनमत पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र केही स्वतन्त्र उम्मेदवारले छुट्टाछुट्टै चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।
इलाम–२ बाट निर्वाचित एमाले उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको भदौ २६ गते निधन भएपछि वैशाख १५ गते उपनिर्वाचन तय भएको हो । एमालेले नेता नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ । स्वतन्त्र उम्मेदवार मिलन लिम्बू, पहिचान पक्षधर नेता प्रेमदीप थाम्सुहाङ र डकेन्द्रसिंह थेगिम लिम्बूलगायतले उम्मेदवारी घोषणा गर्नुभएको छ । काङ्ग्रेस, माओवादी केन्द्र, रास्वपासहित दलले उम्मेदवार तय गर्न आन्तरिक परामर्श गरिरहेका छन् ।
जनमत परीक्षण महत्त्वपूर्ण
इलाम–२ मा हुने प्रतिनिधिसभा र सुदूरपश्चिम प्रदेश सभाका लागि बझाङ क्षेत्र नं. १ (क) बाट निर्वाचित काङ्ग्रेस नेता पृथ्वीबहादुर सिंहको असार २५ गते दुर्घटनामा निधन भएपछि उपनिर्वाचनलाई राजनीतिक दलले आफ्नो प्रतिष्ठाकै रूपमा लिएका छन् । राजनीतिक विश्लेषक एवं प्राध्यापक कृष्ण पोखरेलले गठबन्धन नगरी सबैले आआफ्ना उम्मेदवार खडा गर्दा कुन कुन दल कति पानीमा छन् भन्ने कुरा स्पष्ट हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो पहिलो हुने निर्वाचन प्रणाली हो । कुन पार्टीको वास्तविक स्ट्रेन्थ कति हो र धरातलीय यथार्थ कस्तो छ भन्ने कुरा प्रस्ट हुन्छ ।”
उहाँले अघिल्लो पटक एमाले एक्लै लड्दा काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन गरेको स्मरण गर्दै इलामको उपनिर्वाचनमा पहिचान पक्षधर र नयाँ दलले कसको भोट काट्छन् भन्ने कुराले परिणाम निर्धारण गर्ने बताउनुभयो । उहाँले काङ्ग्रेस र एमालेबिच मुख्य प्रतिस्पर्धा हुँदै गर्दा भोट काटिने, ट्रान्सफर हुने जस्ता विषयले उम्मेदवारको जित निर्धारण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तर यही निर्वाचनले २०८४ सालको निर्वाचनलाई मनोवैज्ञानिक रूपमा प्रभाव पार्छ भन्न सकिँदैन । केही अर्थ चाहिँ पक्कै राख्छ ।”
२०८४ का लागि साङ्केतिक अर्थ
पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले सचिव गोकर्ण विष्ट, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले उपनिर्वाचनका लागि प्रचारप्रसार अघि बढाएको र आफ्नो दलको जनमत सर्वेक्षणका लागि यो राम्रो अवसर रहेको बताउनुभयो ।
काङ्ग्रेस महामन्त्री शर्माले भन्नुभयो, “गठबन्धन बाध्यता र तत्कालीन आवश्यकताले गरिएको थियो तर अहिले सबै दलले एक्लाएक्लै उम्मेदवार उठाएर प्रतिस्पर्धा गर्ने तयारी गरिरहनु राम्रो हो । उपनिर्वाचन सरकार बनाउने चुनाव होइन । आआफ्नो मतको सर्वेक्षण हो ।”
एमाले सचिव विष्टले उपनिर्वाचनमा विजयी प्राप्त गर्ने पार्टीलाई आवधिक निर्वाचनका लागि साङ्केतिक रूपमा महत्त्वपूर्ण हुने बताउँदै भन्नुभयो, “उपनिर्वाचनको परिणामले २०८४ को होस् वा यो निर्वाचन, जनमत सर्वेक्षणको सन्देश सकारात्मक आउँछ ।”
माओवादी केन्द्रका महासचिव गुरुङले निर्वाचनमा सहभागी हुँदै आइरहेका दलहरू नै प्रतिस्पर्धा हुने र माओवादी केन्द्रले पनि तयारी गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले सहमतीय राजनीतिको अभ्यास र सरकारमा भएका घटकबिच सहकार्य गरेर जाँदा राम्रो हुने भन्दै त्यसका लागि प्रधानमन्त्रीले पहल र प्रयास गरेको तर अहिलेसम्म सहमति हुन नसकेको बताउनुभयो । उहाँले अरू दल स्वतन्त्र भए जस्तै माओवादीले पनि स्वाभाविक रूपमा उम्मेदवार उठाउने बताउनुभयो ।
एकीकृत समाजवादीका नेता खनालले उपनिर्वाचनमा आफ्नो पार्टीले गठबन्धन नगर्ने बताउँदै मुख्य रूपले पार्टी निर्माणको प्रक्रियाका रूपमा लिँदै साङ्गठनिक अवस्थाको परीक्षण गरेर पार्टी निर्माणको अवसरका रूपमा सदुपयोग गर्ने प्रस्ट पार्नुभयो ।
रास्वपा उपसभापति अर्यालले उपनिर्वाचनमा गठबन्धन नगर्नु सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चुनावी मैदानमा गठबन्धन गर्न भएन । आफ्नै शक्ति हेर्नु पर्छ । जनताको आशा र अपेक्षा कस्तो छ, कुन दलमाथि जनभरोसा छ भन्ने कुराको परीक्षण हो ।” (आजको गोरखापत्र दैनिकबाट)