काठमाडौँ — हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेकोे छ ।

आज देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

वर्षाको कारण आजबाट सुरु हुन लागेको एसईई परीक्षामा सहभागी हुने विद्यार्थीलाई समेत समस्या परेको छ । आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहनेछ भने देशका बाँकी भूभागको मौसममा आंशिक बदली रहने छ ।

यसैगरी आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा आज दिउँसो हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने र देशका बाँकी भूभागमा आंशिक बदली रहने छ ।

त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।