मस्को — रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता मस्कोको बाहिरी क्षेत्रस्थित कन्सर्ट हलमा भएको आक्रमणमा ‘कट्टरपन्थी इस्लामवादीहरू’ जिम्मेवार रहेको साथै यसमा युक्रेन पनि कुनै न कुनै रूपमा यसमा संलग्न रहेको बताउनुभएको छ । मार्च २२ मा क्रोकस सिटी हलमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा रूसी अधिकारीहरूले ११ जनालाई पक्राउ गरेका छन् ।

सोमबार टेलिभिजनमा प्रसारण भएको वार्तामा रूसी नेता पुटिनले भन्नुभयो, “यो जघन्य अपराध विश्वले नै सदियौंदेखि लड्दै आएको कट्टरपन्थी इस्लामवादीहरूको हातबाट भएको थियो भन्ने हामीलाई जानकारी छ ।” अलजजीराले रूसी नेता पुटिनलाई उद्धृत गर्दै लेखेको छ, “यो अत्याचार सन् २०१४ देखि नव–नाजी किएभको योजनामा हाम्रो देशसँग युद्ध गरिरहेकाहरूको प्रयासको सम्पूर्ण शृङ्खलाको एउटा कडी मात्र हुन सक्छ ।”

पुटिनले घटनाबारे गम्भीर भएर सोच्नु र निष्कर्ष निकाल्नु आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “निःसन्देह, अपराध गरेपछि आतङ्कवादीहरूले युक्रेन जान किन खोजे र त्यहाँ उनीहरूलाई कसले पर्खिरहेको थियो भन्ने प्रश्नको जवाफ खोज्नु आवश्यक छ ।” उहाँले भन्नुभयो, “हामीलाई थाहा छ, रूस र रूसी जनताविरुद्ध यो ज्यादती गर्न कसको हात प्रयोग गरिएको थियो र कसले आदेश दियो भन्ने कुरा हामी जान्न चाहन्छौँ ।”

शुक्रबारपछि रूसको खोरासान प्रान्तबाट इस्लामिक स्टेटले धेरै पटक आक्रमणको पछाडि आफ्नो हात रहेको बताउँदै आएको छ र आईएसआईएलसम्बद्ध सञ्चारमाध्यमहरूले आक्रमणका क्रममा बन्दुकधारीहरूको ग्राफिक भिडियो सार्वजनिक गरेका छन् । सोमबार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले तत्काल कसैलाई आरोप लगाउनुभन्दा रूसमा गरिएको आक्रमणको अनुसन्धानको नतिजा पर्खन पत्रकारहरूसँग आग्रह गर्नुभएको थियो ।

अमेरिकाले मार्च ७ मा मस्कोका अधिकारीहरूलाई सम्भावित आक्रमणबारे चेतावनी दिएको भन्ने समाचारबारे टिप्पणी गर्न समेत उहाँले इन्कार गर्नुभयो । उहाँले रूसले त्यस्तो कुनै पनि गोप्य सूचनालाई अनुसन्धान प्रक्रियापछि मात्र सार्वजनिक हुने बताउनुभयो ।” रुसी अनुसन्धान समितिका अनुसार मार्च २२ मा क्रोकस सिटी हलमा भएको आतङ्कवादी आक्रमणमा अहिलेसम्म कुल १३७ जनाको मृत्यु भइसकेको छ भने र घाइतेहरूको अवस्था हेर्दा मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

मस्को क्षेत्रीय स्वास्थ्य मन्त्रालयले १८२ जना घाइते भएको जनाएको छ । युक्रेनी सीमातर्फ भाग्न खोजेका चार जना संदिग्ध आक्रमणकारीसहित आक्रमणमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको छ ।
युक्रेनको संलग्नता पुष्टि गर्ने प्रमाण नभेटिएको अमेरिकी भनाइ
मस्कोको कन्सर्ट हलमा भएको आतङ्कवादी हमला क्रोकसस्थित आइएसआइएसले गरेको पुष्टि गर्दै संयुक्त राज्य अमेरिकाले यस आक्रमणसँग युक्रेन र युक्रेनी सरकारको सम्बन्ध रहेको कुनै प्रमाण नभेटिएको बताएको छ । ह्वाइट हाउसकी प्रेस सचिव करिन जिन पियरेले यो आतङ्कवादी हमला आईएसआईएसले गरेको र रूसी राष्ट्रपति पुटिनले यो कुरा बुझेको बताउनुभएको छ ।

“यो आईएसआईएसले गरेको आतङ्कवादी हमला थियोे । पुटिनले यो कुरा बुझ्नुभएको छ । उहाँलाई आक्रमणबारे राम्ररी थाह छ र युक्रेन सरकारको यस आक्रमणमा सम्बन्ध छ भन्ने कुनै स्पष्ट प्रमाण छैन,” उहाँले भन्नुभयो । ह्वाइट हाउसकी प्रेस सचिव करिन जीन पियरेले एक विज्ञप्ति जारी गर्दै आइएसआइएसलाई ‘साझा आतङ्कवादी शत्रु’ को संज्ञा दिँदै यसलाई विश्वभरबाट परास्त गर्नुपर्ने बताउनुभएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसको मस्कोमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै अमेरिकाले रूसी जनताप्रति समवेदना प्रकट गरेको बताउनुभयो ।
ब्लिन्केनले भन्नुभयो, “संयुक्त राज्य अमेरिका मार्च २२ मा मस्कोमा भएको आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गर्दछ । यस भयानक घटनापछि भएको जनधनको क्षतिप्रति शोक व्यक्त गर्न हामी रूसका जनताप्रति ऐक्यवद्धताका साथ उभिएका छौं ।” एजेन्सी