इनरुवा — सुनसरीको इनरुवामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेल र सहायक प्रशिक्षक श्याम मानन्धर नगदसहित सम्मानित भएका छन् ।

साउदी अरबमा हालै सम्पन्न ‘वाफ च्याम्पियनसिप’को उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य पौडेल र सहायक प्रशिक्षक मानन्धरलाई इटहरी उपमहानगरपालिका र राष्ट्रिय जागृती क्लबले गृहनगरमा आइतबार एक कार्यक्रमबीच नगदसहित सम्मान गरेको हो । पौडेललाई रु एक लाख एक हजार तथा मानन्धरलाई रु ५१ हजारसहित सम्मान गरिएको इटहरी उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलले बताए । फुटबल खेलको माध्यमबाट इटहरीको मात्र नभई समग्र देशको शिर उच्च राख्न योगदान पु¥याएको भन्दै दुवै जनालाई नगदसहित सम्मान गरिएको उनले बताए ।

यसैबीच राष्ट्रिय जागृती क्लबले पनि पौडेल र मानन्धरलाई नगद रु २५ हजारसहित सम्मान गरेको क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले बताए । वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित भएको थियो ।