फाइल तस्वीर

मस्को — रुसमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । रुसी समाचार एजेन्सीका अनुसार एउटा कन्सर्ट हलमा गरिएको उक्त घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो ।

हतियारधारीले चलाएको गोली लागि एकसय जनाभन्दा मानिसहरु घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । समाचार संस्था रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ’आतङ्कवादी हमला’ भनेको छ । समाचारमा जनाइएअनुसार यहाँ कन्सर्ट हुन लागेको समयमा कन्सर्टअघि छद्मभेषमा हलभित्र प्रवेश गरेका हतियारधारीहरूले अन्धाधुन्ध गोली चलाएको समाचारमा जनाइएको छ ।

गोली चलाएपछि कन्सर्ट भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ । घटनास्थलमा पुगेका सुरक्षाकर्मीले बेसमेन्टबाट करिब एक सय जनाको उद्धार गरेको समाचारमा जनाइएको छ । आरआईए नोवोस्ती समाचार एजेन्सीका अनुसार उक्त कन्सर्ट हलमा कम्तीमा तीन आक्रमणकारी प्रवेश गरेका थिए ।

इराक र सिरयामा सक्रिय रहेको आईएसआईएल समूहले टेलिग्राम च्यानलमार्फत् उक्त घटनाको जिम्मा लिएको अल जजिराले जनाएको छ । एक प्रत्यक्षदर्शीका अनुसार आतङ्कवादीहरूले मानिसहरूलाई गोली हानेको र जताततै पेट्रोल बम प्रहार गरेपछि त्यहाँ आगलागी भएको थियो ।