काठमाडौँ — विद्यालय शिक्षा विधेयक, २०८० लाई संशोधन गर्दा शिक्षक–कर्मचारीसँग भएका सहमतिको पालनाका साथै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सांसदहरूले माग गर्नुभएको छ । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयका संशोधनकर्ता सांसदहरूले धेरै थरिका शिक्षक कायम गरी उनीहरूलाई निजामती सेवासरह सुविधा दिन आग्रह गर्नुभएको छ ।

बैठकमा संशोधनकर्ता सांसद दीलेन्द्रप्रसाद बडू, शेरबहादुर केसी, चित्रबहादुर केसी, सूर्यमान दोङ, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद पाण्डेलगायतले लामो समयको अन्तरालपछि शिक्षा विधेयक आएकाले यसलाई अधिकतम्रूपमा कामयाबी बनाउन सुझाव दिनुभयो । समितिको सभापितमा अमरबहादुर थापाको चयन र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सुमना श्रेष्ठको नियुक्तिपछि विधेयकमाथि पहिलोपटक छलफल भएको हो ।