फाइल तस्वीर
कान्दहार — अफगानिस्तानमा आत्मघाती बम विष्फोट भएको छ । अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा हिजो बिहीबार आत्मघाती बम विष्फोट गराइएको हो ।


कान्दहार प्रान्तमा गरिएको आत्मघाती बम विष्फोटमा परी कम्तिमा २१ जनाको मृत्यु हुनुको साथै ५० जना मानिस घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । कान्दहारमा गराइएको आत्मघाती बम विष्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस) ले लिएको छ ।

कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा सेवाग्राहीहरुको भिड भएको समयमा आत्मघाती बम विष्फोट भएको थियो । अधिकांश सेवाग्राहीहरु बैंकबाट तलब बैंक पुगेका थिए । बैंकमा पैसाझिक्न लाइनमा बसिरहेकोबेला आत्मघाती बम विष्फोट गराइएको थियो ।

अफगानिस्तानको तालिबान सरकारले यो घटनामा तीन जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । यद्यपि, अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले चिकित्सक स्रोतलाई उद्धृत गर्दै २१ जनाको मृत्यु भएको र कम्तिमा ५० जना घाइते भएको जनाएको छ ।

अफगानिस्तानमा सत्ता कब्जा गरेपछि तालिबानले कान्दहारलाई सत्ताको केन्द्र बनाएको छ । कान्दहारमा तालिबानका सुप्रिम कमाण्डरको बासस्थान पनि हो । बीबीसीले यो घटनालाई यस वर्षको सबैभन्दा ठूलो विष्फोटको घटना हुन सक्ने उल्लेख गरेको छ ।