हनोई — आज बिहीबार भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा दिएको एक दिनपछि जुहानलाई कार्यबाहक राष्ट्रपति बनाइएको हो ।

भियतनामी राष्ट्रियसभा (एनए) को असाधारण अधिवेशनमा उक्त निर्णय गरिएको भियतनामी समाचार एजेन्सीले जनाएको छ । नयाँ राष्ट्रपति चयन नहुञ्जेलसम्म जुआनले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने राष्ट्रिय सभा स्थायी समितिले जनाएको छ । बैठकले थुओङलाई सन् २०२१÷२६ को राष्ट्रपति र राष्ट्रियसभाका १५औँ उपप्रमुखको कार्यकालबाट पनि पदमुक्त गरेको छ ।

निवर्तमान राष्ट्रपति थुओङले कानुनी ‘उल्लङ्घन र कमी कमजोरी’का लागि आफू दोषी रहेको स्विकार गर्दै राष्ट्रपति पदबाट राजीनामा दिनुभएको थियो । भियतनाम समाचार एजेन्सीका अनुसार राष्ट्रपति थुओङले पार्टी, राज्य र जनताप्रतिको आफ्नो जिम्मेवारीप्रति पूर्ण सजग रहेर राष्ट्रपतिको पदबाट राजीनामा दिएको बताउनुभएको थियो । बुधबार भियतनामको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले थुओङको व्यक्तिगत अनुरोधमा उहाँको राजीनामा स्वीकृत गरेको थियो ।