काठमाडौँ — पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले नेपालको मौसम बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार पनि देशभरको मौसम बदली र वर्षा तथा हिमपात हुने भएको छ । तराई क्षेत्रका केही स्थानमा हावाहुरीसमेत आउने सम्भावना रहेको छ ।

आज दिउँसो पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ भने कोसी प्रदेशका केही स्थान, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ भने दिउँसोतिर मधेस प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीसमेत आउने सम्भावना देखिएको छ ।

अहिले बिहान पनि कोसी, मधेस र बागमती प्रदेशमा साधारणदेखि अधिकांश बदली, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली तथा सुदूरपश्चिम प्रदेशको मौसम आंशिक बदली छ । साथै कोशी , मधेस र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यसैगरी राति देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।