ललितपुर — पत्रकारको क्षमता अभिवृद्धि हुँदा आम नागरिकले सही सूचना प्राप्त गर्न सक्नेमा जोड दिइएको छ । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशद्वारा आयोजित डिजिटल पत्रकारिता तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारले नागरिकलाई विश्वसनीय एवं सत्यतथ्य सूचना प्रवाह गर्नुपर्ने र त्यसका लागि दक्ष पत्रकार आवश्यक हुने बताउनुभयो ।

“पत्रकार दक्ष भए नागरिकले सही सूचना प्राप्त गर्छन्, राज्यको सेवा, सुविधा जनतामा पुगेको छ कि छैन भनेर खोज्नु आवश्यक छ । त्यसका लागि हामीले पत्रकारको खोज्ने र नागरिकको हितमा कलम चलाउने क्षमता विकासका लागि तालिम आयोजना गरेका हौँ ।”– सञ्चार रजिष्ट्रार सापकोटाले भन्नुभयो ।

दक्ष पत्रकार भए जहाँ गएपनि काम गर्न सकिन्छ भन्नुहुँदै उहाँले सूचना प्रविधिको विकास र इन्टरनेटमा पहुँच भएपछि पत्रकार विश्वव्यापी भइसकेको बताउनुभयो । बागमती प्रदेशको पत्रकारिता सुधार्न सकियो भने नेपालको पत्रकारिता सुधार्न सकिन्छ भन्ने उहाँको धारणा थियो । 

राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राईले तालिममा सहभागी पत्रकारहरुले प्राप्त गरेको ज्ञानले उर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय र प्रदेश सरकारले गरेका राम्रा कामका समाचार तथा आलेख राससमा आउनुपर्ने र त्यसमा तालिम प्राप्त पत्रकारबाट महत्वपूर्ण काम हुने विश्वास व्यक्त गर्नुभयो ।  

शुक्रबारदेखि सुरु भएको तालिमको पहिलो दिन राससका महाप्रबन्धक राईले समाचारदातासँग राससको अपेक्षा, प्रधानसम्पादक एकराज पाठकले समाचार लेखन कला र समाचार सङ्कलनमा सूचनाको हकको उपयोग, प्रशिक्षक अरुण कार्कीले तथ्याङ्कसम्बन्धी  पत्रकारिता विषयमा पत्रकारलाई सहजीकरण गर्नुभएको थियो । दोस्रो दिन शनिबार प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालले पत्रकार आचारसंहिता, विकास कार्कीले फोटो पत्रकारिता र रविराज बरालले सुरक्षित सामाजिक सञ्जालको उपयोगका विषयमा सहजीकरण गर्नुभएको थियो ।

तालिमको अन्तिम दिन आज राससका आलेख सम्पादक कृष्ण अधिकारीले राससले खोज्ने आलेख समाचार, नेपाल प्रेस इन्ष्टिच्युटका पूर्वअध्यक्ष तीर्थ कोइरालाले समाचार लेख्नुअघि  पत्रकारले बुझ्नुपर्ने विषय र रजिष्ट्रार सापकोटाले प्रदेशका समाचारका विषयमा सहजीकरण गर्नुभएको थियो । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशको आयोजनामा भएको डिजिटल पत्रकारिता तालिममा बागमती प्रदेशका १३ जिल्लाका पत्रकार सहभागी थिए ।