फाइल तस्वीर
काठमाडौँ — नेपाली क्रिकेट टिमले आज बुधबार हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि पपुवा न्यु गिनी (पीएनजी) सँग भिड्दै छ । नेपालले फाइनल खेल नेपाली समयानुसार बिहान पौने १२ बजे हङकङको मोङ कोक मैदानमा खेल्ने छ।

नेपाल पीएनजीलाई नै ८५ रनले हराउँदै शीर्ष स्थान रहेर फाइनलमा पुगेको हो । फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्न लागेको पीएनजीले हङकङलाई १० विकेटले हराएर फाइनलको यात्रा तय गरेको थियो । नेपाल पीएनजीविरुद्धको अपराजित यात्रालाई निरन्तरता दिंदै उपाधि जित्ने रणनीतिमा मैदानमा उत्रने छ ।

यसअघि नेपाल र पीएनजी पाँचवटा टी–२० आई खेलमा प्रतिस्पर्धा गरिसकेका छन् । यसमध्ये नेपालले चार र पीएनजीले एक खेलमा जितेको छ । पीएनजीले सन् २०१५ यता नेपाललाई हराउन सकेको छैन । यी दुई टिम आसन्न टी–२० विश्वकपको तयारीस्वरूप सिरिजमा सहभागी भएका हुन् ।

आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इण्डिजमा सुरु हुने विश्वकपमा नेपाल ‘डी’ र पीएनजी ‘सी’ समूहमा रहेका छन् । यी दुवै टिमले आजको नतिजा आफ्नो पक्षमा पार्ने रणनीति लिएर मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।