फाइल तस्वीर
हेटौंडा — बागमती प्रदेशमा बजेट माथि उत्पन्न भएको विवादलाई समाधान गर्न गठित संसदीय विशेष समितिले आज मङ्गलबार आफ्नो प्रतिवेदन बुझाएको छ । प्रदेशसभाका सभामुख भुवन पाठकसमक्ष समितिले प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनले बजेट कार्यक्रमका विषयमा सत्तापक्ष र प्रतिपक्ष दहहरूवीच भएको सहमति अनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको योजनामा बजेट विनियोजन गरेर कार्यान्वयन गर्न सुझाव दिएको छ । सभामुख पाठकसमक्ष पेश गरिएको उक्त प्रतिवेदन आजै बस्ने प्रदेशसभा बैठकमा पेस गर्ने तयारी भएको छ ।

सत्तापक्ष र प्रतिपक्षबीच चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्दाको समयमा भएको सहमति कार्यान्वयनका विषयमा विवाद उत्पन्न भएको थियो । उक्त विवादले प्रदेशसभा बैठक नै प्रभावित बनेपछि गत फागुन १७ गते बसेको सर्वदलीय बैठकले काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्सालको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति गठन गरेको थियो । उक्त समितिले तयार गरेको प्रतिवेदनमाथि आजको बैठकमा छलफल गर्ने र आजै पास गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

समितिले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूले चालु आर्थिक वर्षको बजेट पारित गर्दाको सहमति अनुसार मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरी आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाएका योजनाहरू प्रतिवेदनमा समावेश गरी कार्यान्वयन गर्न सिफारिस गरेको छ । साथै प्रतिवेदनले औल्याएको विषयलाई कार्यान्वयन गर्न उपयुक्त भएकाले प्रदेश सरकारलाई निर्देशन समेत दिएको छ ।