काठमाडौँ — सङ्गीत साधक गणेश रसिक र मुन्धुमी कवि तथा सञ्चारकर्मी प्रदीप मेन्याङ्बो सम्मानित हुनुभएको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरुलाई नगदसहित सम्मान गरिएको हो ।
सङ्गीत साधक रसिकलाई ५० हजार राशिको प्रतिभा सम्मानबाट तथा मुन्धुमी कवि मेन्याङ्बोलाई एक लाख नगद राशिसहित पुरस्कृत गरिएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ कवि बैरागी काइँलाले साहित्यक क्षेत्रमा दिइने प्रतिभा पुरस्कारले लेख्नका लागि सर्जकलाई थप ऊर्जा दिने बताउनुभयो । उहाँले पुरस्कृत भएका दुवैजनाको उन्नतिको कामना गर्दै समाजको यथार्थलाई साहित्यमार्फत उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ वाङ्मय तथा सङ्गीत साधक रसिकले पुरस्कार योग्य ठानेकामा नेपाली प्रतिभा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यसैगरी, मुन्धुमी कवि तथा सञ्चारकर्मी मेन्याङ्बोले पुरस्कारले आफूलाई थप प्रेरणा मिलेको र नयाँ ऊर्जाका साथ मुन्धुमी साहित्यका लागि आफू अझै लागिपर्ने बताउनुभयो ।