फाइल तस्वीर


काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गतको खेल बहराइनमा खेल्नु पर्ने भएको छ । नेपालले होम ग्राउण्डमा बहराइनविरुद्धको खेल खेलाउन योग्य रङ्गशाला नभएका कारण उक्त खेल बहराइनमै खेल्नु पर्ने भएको हो ।

खेल तालिका अनुसार छनोटको दोस्रो चरणअन्तर्गतको खेल आगामी चैत ८ गते नेपालले घरेलु मैदानमा बहराइनसँग खेल्नुपर्ने थियो भने बहराइनविरुद्धको अर्को खेल चैत १३ गते बहराइनमा खेल्ने तालिका थियो । अव नेपालले बहराइनसँगको दुवै खेल बहराइनमा हुने भएको छ ।

अब नेपाल र बहराइनबीच चैत ८ गते हुने खेल बहराइनमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) स्रोतका अनुसार खेल बहराइनमै गर्ने तय भएको हो ।

नेपाल छनोटको दोस्रो चरणमा समूह एचमा छ । नेपालले यसअघि यूएईसँग उसैको मैदानमा र यमनसँग घरेलु मैदानमा खेलेको थियो । त्यसपछि युएईसँगको होम म्याच र यमनसँगको अवे म्याच आगामी जुनमा हुने एन्फाले जनाएको छ ।