फाइल तस्वीरः नेपाल राष्ट्र बैंक ।


काठमाडौँ — देशको केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक)ले चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१ दशमलव छ प्रतिशतले र अमेरिकी डलरमा १९ दशमलव एक प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति २९७ अर्ब ७२ करोड रुपैयाँले बचत रहेको राष्ट्र बैंकले जनाएको हो ।

यसैगरी कुल विदेशी विनिमय सञ्चितितर्फ १,८४४ अर्ब ९४ करोड रुपैयाँ र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ भने नेपाल सरकारको खर्च ६८६ अर्ब ७५ करोड रुपैयाँ र राजस्व परिचालन ५६७ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बैंकका अनुसार विस्तृत मुद्राप्रदाय सात दशमलव सून्य प्रतिशतले बढ्नुका साथै वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३ दशमलव सात प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति पाँच दशमलव एक प्रतिशत रहेको उल्लेख छ ।

यसैगरी वस्तु आयाततर्फ दुई दशमलव तीन प्रतिशत, निर्याततर्फ सात दशमलव एक प्रतिशत र कुल वस्तु व्यापार घाटातर्फ एक दशमलव आठ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव एक प्रतिशतले बढेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४ दशमलव चार प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमलव सात प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।