पूर्वराष्ट्रपति डा.रामवरण यादव ।


जनकपुरधाम — पूर्वराष्ट्रपति डा रामवरण यादवले समाजलाई जोड्नका लागि धार्मिक, सांस्कृतिक परम्परा महत्वपूर्ण माध्यमका रूपमा रहेका बताउनुभएको छ ।

मिथिला क्षेत्रको महत्वपूर्ण सांस्कृतिक पर्व मिथिला माध्यामिकी परिक्रमाको आज शुभारम्भ गर्दै पूर्वराष्ट्रपति डा यादवले माध्यमिकी परिक्रमा मिथिलाको सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएकाले यसले समाजलाई जोड्ने काम गरिरहेको बताउनुभयो । 

“मिथिलाको सांस्कृतिक इतिहास हजारौँ वर्ष पुरानो वर्ष पुरानो छ । यो यहाँको सभ्यता र पहिचान पनि हो । त्यसैले यसको संरक्षणका लागि सबैले भूमिका खेल्न जरुरी छ”, पूर्वराष्ट्रपति डा यादवले भन्नुभयो । 

कार्यक्रममा मधेस–प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री सुनिता यादवले मिथिला माध्यमिकी परिक्रमा क्षेत्रको व्यवस्थित विकासका लागि गुरुयोजना बनाएर काम गर्ने गरी प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले परापूर्वकालदेखि चलिआएको माध्यमिकी परिक्रमा संस्कृतिलाई व्यवस्थित बनाउन, परिक्रमा क्षेत्रका ऐतिहासिकस्थललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्पदाका रूपमा विकास गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार नन्दकिशोर यादव, मिथिला बिहारी नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद यादवलगायतले मिथिला मध्यमिकी परिक्रममास्थल वडा नं ८ कचुरीस्थित मिथिला बिहारी मन्दिरको संरक्षण र विकासका लागि सबै तहका सरकार र निकायलाई आग्रह गर्नुभयो । 

नेपाल ११ र भारतका चारसहित विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गर्ने यो पर्वलाई यहाँ विशेष महत्वका साथ लिने गरिन्छ । ‘जय सियाराम जय जय सियाराम’ को मन्त्रसहति आज धनुषाको मिथिला विहारी मन्दिरबाट झाँकी, कीर्तनसहित श्रद्धालुहरूले यात्रा प्रारम्भ गर्नुभयो । 

सहभागीहरूले परम्परागत बाजागाजा, झाँकीसहित मौलिक पहिरनमा सहभागी हुनुभएको छ । अठारौँ शताब्दीदेखि धार्मिकयात्रालाई माध्यमिकी परिक्रमाका रूपमा मनाइँदै आइएको र यो धार्मिक यात्रा १५ दिनभित्र जनकपुरमा होली खेलेर फागुपूर्णिमा तिथि पारेर समापन गर्ने परम्परा रहेको मिथिला विहारी मन्दिरका महन्थ रामनरेश शरणले जानकारी दिनुभयो । रासस