फाइल तस्वीरः पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति आसिफ अली जरदारी ।
काठमाडौँ—पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी निर्वाचित हुनुभएको छ । पाकिस्तान पिपुल्स पार्टीका सहअध्यक्ष समेत रहनुभएका जर्दारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा नियुक्त हुनुभएको हो ।

नवनिर्वाचित राष्ट्रपतिले आज आईतबार अपराह्न चार बजे दोस्रो कार्यकालको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति जरदारीलाई पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले पद तथा गोपनीयताको शपथ खुवाउनु हुनेछ ।

राष्ट्रपति जरदारी यसअघि सन् २००८ देखि सन् २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बन्नभएको थियो ।नवनिर्वाचित राष्ट्रपति जरदारीलाई प्रधानमन्त्री शहबाज शरीफले बधाई दिनुभएको छ । पाकिस्तानी निर्वाचन आयोगका अनुसार राष्ट्रपतिको निर्वाचनबाट निर्वाचित जरदारीले ४११ भोट पाएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

हिजो शनिबार भएको राष्ट्रपति निर्वाचनमा विधानसभा र सिनेटका एक हजार ४४ सदस्यले मतदान गरेकोमा जरदारीको पक्षमा ४११ मत र उहाँको प्रतिद्वन्द्वी महमुद खान अचकजईको पक्षमा १८१ मत परेको थियो । राष्ट्रपतिमा जरदारी चुनिनु लोकतान्त्रिक मूल्य मान्यताको निरन्तरता रहेको भनिएको छ ।