फाइल तस्वीर
काठमाडौँ — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आज आइतबार देशको पहाडी भूभागसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ । देशको बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ ।