मोरङ — नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.शशाङ्क कोइरालाले पार्टी नेतृत्वले महिलालाई सम्मानजनक स्थान र अवसर दिनुपर्नेमा जोड दिनुभएको छ । नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ४ द्वारा आज जिल्ला पार्टी कार्यालय विराटनगरमा आयोजित ‘ नेपाली काङ्ग्रेस र अबको बाटो’ विषयमा भएको छलफलमा उहाँले सबै क्षेत्रमा महिलालाई पुरुष बराबर अवसर दिएर पार्टीप्रति आकर्षित गर्नुपर्छ भन्नुभयो ।

नेता कोइरालाले पार्टीमा गुटबन्दीको होइन विचारको राजनीति गर्नुपर्छ भन्नुभयो । उहाँले क्षेत्र, जिल्ला र पालिकालाई अधिकार दिन पार्टीको विधान संशोधन गर्नुपर्ने बताउनुभयो । आगामी निर्वाचनमा नेकाले कसैसँग गठबन्धन गननहुने बताउनुभयो ।

सङ्घीय सांसद सुनिल शर्माले पार्टीले क्रियाशील सदस्यहरुको बहुमतका आधारमा टिकट वितरण गर्नुपर्ने बताउँदै २०८४ को निर्वाचनका निम्ति आजैदेखि लाग्नुपर्नेमा जोड दिनुभयो ।

कोशी प्रदेश सभाका सदस्य अमृत अर्याल र पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले अबको बाटो चुनौतीपूर्ण रहेकाले जनताका समस्या समाधानमा पार्टी लाग्नु पर्ने सुझाव दिनुभयो । क्षेत्रीय सभापति विनोद बस्नेत र मोरङ जिल्लाका कार्यवाहक सभापति भक्तिनाथ माझीले पार्टी नेतृत्वले गुटबन्दीलाई दुरुत्साहन गर्नुपर्ने बताउनुभयो ।