काठमाडौँ — नवनियुक्त सहरी विकासमन्त्री धनबहादुर बुढाले चालु आर्थिक वर्ष २०८०/८१ मा मन्त्रालयमा प्राप्त बजेट सिलिङको अन्तरनिकाय बाँडफाँटलाई निरन्तरता दिने निर्णय गर्नुभएको छ । मन्त्रिमण्डलको विस्तारसँगै आज पदभार ग्रहण गर्दै मन्त्री बुढाले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।

मन्त्रालयका सचिव मणिराम गेलालले मन्त्रीले पदबहाली ग्रहणसँगै मन्त्रालयको करिब ४६ अर्बको सिलिङलाई मन्त्रालयअन्तर्गतका निकायलाई बाँडफाँड गर्ने निर्णय गर्नुभएको जानकारी दिनुभयो ।

“मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलगायतका विभिन्न मन्त्रालयअन्तर्गतका निकायलाई बाँडफाँट गरेका छौँ । गत वर्ष जुन अनुपातमा थियो । पदबहालीसँगै मन्त्री बुढाले सोही अनुपातमा बजेट बाँडफाँटलाई निरन्तरता दिनेमा स्वीकृत गर्र्नुभएको छ”, सचिव गेलालले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश डोल्पा जिल्ला, काइके गाउँपालिकामा विसं २०३१ फागुन ७ गते जन्मनुभएको मन्त्री बुढा विसं २०७९ मङ्सिर ४ को निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट डोल्पा जिल्ला निर्वाचन क्षेत्र १ बाट निर्वाचित हुनुभएको थियो ।

उहाँ विसं २०६० र २०६१ मा जिल्ला विकास समिति सभापति, विसं २०७० मा संविधानसभा सदस्य, विसं २०७४ मा प्रतिनिधिसभा सदस्य, विसं २०७६ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री हुनुभएको थियो ।