सुदूरपश्चिम — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको सो पार्टीका प्रदेशसभा सदस्य शिवसिंह ओलीले जानकारी दिनुभयो ।

नेपाली काङ्ग्रेस संसदीय दलका नेता शाह नेतृत्वको सरकारमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सत्ता साझेदार थियो । कूल ५३ सदस्यीय प्रदेशसभामा सभामुखबाहेक सो पार्टीका दश प्रदेशसभा सदस्य छन् । 

प्रदेशसभाको ठूलो दल नेपाली काङ्ग्रेसका १९ सदस्यमध्ये बझाङबाट प्रदेशसभामा निर्वाचित काङ्ग्रेसका पृथ्वीबहादुर सिंहको केही महिनाअघि गाडी दुर्घटनामा निधन भएको थियो । प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का दश, नागरिक उन्मुक्तिका सात, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र एक स्वतन्त्र सदस्य छन् । 

सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी)ले आज मध्याह्नसम्म सरकारमा रहने वा नरहने भन्नेबारेमा कुनै निर्णय गरिसकेका छैनन् । यसअघि मङ्गलबार मुख्यमन्त्री शाहले नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र उद्योग पर्यटन तथा वातावरण राज्यमन्त्री गीतादेवी माललाई पदमुक्त गर्नुभएको थियो । मन्त्रीद्वय साउद र धामीले सम्हाल्दै आउनुभएको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफैँ मातहत राख्नुभएको छ ।