संयुक्त राष्ट्रसङ्घ — संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सप्ताहन्तमा भएको घातक हिंसापछि हाइटीको राजधानी पोर्ट–अ–प्रिन्समा बिग्रँदो सुरक्षा अवस्थालाई लिएर गहिरो चिन्ता व्यक्त गर्नुभएको बताइएको छ ।

उहाँको मुख्य प्रवक्ता स्टेफन डुजारिकका अनुसार “महासचिव पोर्ट–अ–प्रिन्समा निरन्तर बिग्रँदै गएको सुरक्षा स्थितिप्रति अत्यन्त चिन्तित हुनुहुन्छ, हाइटीमा सशस्त्र गिरोहहरूले सप्ताहन्तमा प्रहरी चौकी र दुई कारागारसहित महत्वपूर्ण पूर्वाधारहरूमा आक्रमणलाई तीव्र बनाएका छन् ।”

उहाँका अनुसार महासचिव गुटेरेसले विशेषरूपमा गैर–संयुक्त राष्ट्र बहुराष्ट्रिय सुरक्षा सहायता मिसनका लागि वित्तीय सहायता प्रदान गर्न तत्काल कारवाहीको आवश्यकता दोहोर्याउनुभएको छ । मिसनमा मुलुकहरूको स्वयंसेवी प्रहरी टुकडीको एउटा समूह छ । उक्त समूहले तत्काल सुरक्षा आवश्यकताहरू पूरा गर्न र मुलुकलाई अराजकताबाट जोगाउन हाइटीका प्रहरीलाई सहयोग गर्नेछ । 

महासचिवले हाइटी सरकार र अन्य राजनीतिक नेताहरूसँग निर्वाचनमार्फत लोकतान्त्रिक संस्थाहरूको पुनःस्थापनाको दिशामा राजनीतिक प्रक्रियालाई अगाडि बढाउने आवश्यक कदमहरूमा छिटो सहमत हुन आह्वान गर्नुभएको प्रवक्ता डुजारिकले बताउनुभयो । 

प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति एरियल हेनरी केन्यामा एक हजार प्रहरी अधिकारीलाई पठाउने कार्यलाई वैध बनाउने एक सम्झौतामा हस्ताक्षर गर्नका लागि केन्यामा हुँदा हिंसा भड्किएको थियो । 

सन् २०२१ जुलाईमा राष्ट्रपति जोभेनल मोइसको हत्यापछि सम्पूर्ण क्यारेबियाली मुलुकमा गिरोह हिंसा बढिरहेको छ ।