फाइल तस्वीर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे
धनगढी — केन्द्रीय सत्ता गठबन्धनमा भएको परिवर्तनसँगै काङ्ग्रेसका मुख्यमन्त्रीहरुबाट प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने काम भएको छ । हिजो बनेको नयाँ समीकरणका कारण गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको हो ।

गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रका दुई जना र सुदूरपश्चिम प्रदेशबाट दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रबाट सामाजिक विकास मन्त्री बन्नुभएकी सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुनुभएका रेशमबहादुर जुगजालीलाई बर्खास्त गर्नुभएको छ ।

फाइल तस्वीर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह

यसैगरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गर्नुभएको छ ।

गण्डकी प्रदेशमा नयाँ समीकरण अनुसार सरकार बनाउन त्यति सजिलो देखिंदैन र एमाले—माओवादीको मिलिजुली सरकार बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन आवश्यक पर्ने देखिएको छ ।

यसैगरी सुदुरपश्चिम प्रदेशमा काङ्ग्रेसलाई अहिलेसम्म नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीले समर्थन गरिरहेकाले त्यहाँको नेतृत्व परिवर्तन हुने सम्भावना न्यून रहेको छ । यदि नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएमा मुख्यमन्त्री शाहको पद धरापमा पर्नेछ । नाउपाले उक्त प्रदेशमा मुख्यमन्त्रीको दावी गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाली काङ्ग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ । सुदूरपश्चिममा नाउपा र एकीकृत समाजवादीले समर्थन कायम राखे मुख्यमन्त्रीलाई बहुमुत पुग्नेदेखिन्छ ।