वीरेन्द्रनगर — नयाँ गठबन्धनको सरकार गठन भएपछि नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । काङ्ग्रेसबाट मन्त्री बनेका तीन जना मन्त्रीले राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी गराएका हुन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

गत वैशाखमा मात्रै मन्त्री बन्नुभएका अर्थमन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले राजीनामा दिनुभएको छ ।

केन्द्रमा समीकरण बदलिएको अवस्थामा सत्तामा बसिरहनुको औचित्य नभएकोले राजीनामा दिएको निवर्तमान पर्यटन, वन तथा वातावरणमन्त्री बीसीले जानकारी दिनुभयो ।