फाइल तस्वीर
काठमाडौँ — काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज मङ्गलबार बिहान साढे ११ बजेबाट सुरु हुने फाइनल खेल आयोजक राष्ट्र नेपाल र नेदरल्याण्डस्बीच हुन लागेको हो ।

तीन टोलीबीच भएको लिग चरणका खेलमा सबै टोलीले चार–चार खेलेका थिए । जसमा नेदरल्याण्ड्स पाँच अङ्कसहित पहिलो, नेपाल चार अङ्कसहित दोस्रो र नामिबिया तीन अङसहित तेस्रो स्थानमा रहेका थिए । तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान अनुसार आज पहिलो भएको नेदरल्याण्ड्स र दोस्रो भएको नेपालबीच फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो ।
अघिल्ला दुवै खेलमा पराजित भएको नेपाली टोली पछिल्ला दुई खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै श्रृङ्खलाको फाइनलमा पुग्न सफल भएको हो । नामिबिया भने लिग चरणबाटै बाहिरिन पुगेको छ ।

आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित हुन पुगेको त्यसअघि नेपाल र नामिबियाबीच भएको खेलमा नेपालले बाजी मार्दै आएको थियो । नेपालले जारी प्रतियोगिता कै आफ्नो दोस्रो खेलमा पनि नेदरल्याण्ड्ससँग दुई रनले पराजित भई स्तब्ध भएको थियो ।

आफ्नो तेस्रो खेलमा भने नेपालले नामिबियामाथि तीन रनको रोमाञ्चक जित निकालेपछि नेपाली टिमले लयमा फर्किदै केही आशालाई जिवित बनाउन सफल भयो । लिग चरणको आफ्नो चांैथो तथा अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराउन सफल भयो ।

यता नामिबिया र नेदरल्याण्ड्सबीचको लिग चरणको अन्तिम खेल हुँदै गर्दा वर्षाका कारण खेल अवरुद्ध बन्न पुग्यो । जसले गर्दा खेल अनिर्णीत हुँदा अन्तिम खेल वर्षाले बिथोलिएपछि नामिबिया उपाधि होडबाट बाहिरिन पुग्यो । नेपाललाई भाग्यले साथ दिंदै नेदरल्याण्ड्ससँगको फाइन भिडन्त सुनिश्चित बन्न पुग्यो ।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने नवौँ आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका क्रममा यो श्रृङ्खला खेलिएको हो ।