किएभ — रुसी क्षेप्यास्त्र, ड्रोन र तोप हमलामा कम्तीमा ११ जनाको मृत्यु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार पश्चिमी मुलुकहरूसँग थप हवाई–रक्षा प्रणाली चाँडो उपलब्ध गराउन आह्वान गर्नुभएको छ ।

दक्षिणी बन्दरगाह सहर ओडेसामा रातभर भएको ड्रोन हमलामा एक बालक र एक शिशुसहित आठ जनाको मृत्युको पुष्टि भएको एक क्षेत्रीय अधिकारीले बताउनुभएको छ । उत्तरपूर्वी खार्किभ तथा दक्षिणमा खेरसन र जापोरिजियाको सीमावर्ती क्षेत्रहरूमा भिन्नाभिन्नै गोलाबारी हमलामा अन्य तीन जना मारिएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन् । 

“रुसले लगातार नागरिकहरूमाथि हमला गरिरहेको छ”, राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा भन्नुभयो, “हामीलाई हाम्रा साझेदारहरूबाट थप हवाई प्रतिरक्षा आवश्यक छ, हामीलाई आफ्ना नागरिकहरूलाई रुसी आतङ्कबाट थप सुरक्षा प्रदान गर्नका लागि युक्रेनी हवाई ढाललाई बलियो बनाउन आवश्यक छ, थप हवाई–प्रतिरक्षा प्रणालीका लागि थप क्षेप्यास्त्रले जीवन बचाउँछ ।”

अमेरिकी कांग्रेसमा ६० अर्ब डलरको महत्त्वपूर्ण सहायता प्याकेज अड्किएकाले युक्रेन अहिले दुई वर्षको युद्धमा ‘ब्याकफुट’ मा छ । 

“रुसी ‘आतङ्कवादीहरू’को हमलामा ओडेसामा नौ तले एउटा भवन क्षतिग्रस्त भएको छ”, गृहमन्त्री इगोर क्लिमेङ्कोले शनिबार एक टेलिग्राम पोस्टमा भन्नुभयो । करिब १० जना बेपत्ता छन् र एक सय उद्धारकर्मी रातभर खोजी तथा उद्धार कार्यका लागि तयारी अवस्थामा छन् । 

घटनास्थलको फुटेजमा एउटा आवासीय भवनको धेरै तला भत्किएको र भवनको अग्रभाग बिग्रिएको देखाइएको छ । युक्रेनको हवाई सेनाले उसले खसालेको रुसी ड्रोनको भग्नावशेष ओडेसा र खार्किभ दुवै स्थानका आवासीय भवनहरूमा खसेको बताएको छ ।